दफा
समितिको काम, कर्तव्य र अधिकार
यो आदेशमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) विशेष आर्थिक क्षेत्रसम्बन्धी नीतिका सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने,
(ख) विशेष आर्थिक क्षेत्र सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विस्तृत मापदण्ड तथा कार्यविधि बनाई मन्त्रालयसमक्ष सिफारिस गर्ने,
(ग) प्रचलित कानुन तथा नेपाल सरकारबाट स्वीकृत मापदण्ड तथा कार्यविधिको अधीनमा रही विशेष आर्थिक क्षेत्रको सञ्चालन तथा व्यवस्थापन गर्ने,
(घ) विशेष आर्थिक क्षेत्रलाई विशेष कर सहुलियत प्रदान गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने,
(ङ) विशेष आर्थिक क्षेत्रमा प्रतिस्पर्धा गराई सम्झौता गरी उद्योगीलाई उद्योग स्थापना तथा सञ्चालन गर्न जग्गा तथा भवन भाडामा दिने,
(च) विशेष आर्थिक क्षेत्रभित्र स्थापित उद्योगहरूको आवधिक निरीक्षण गरी कुनै उद्योगले यो आदेश वा प्रचलित कानुन विपरीत कुनै कार्य गरेको वा गर्नुपर्ने कार्य नगरेको पाइएमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस
गर्ने,
(छ) विशेष आर्थिक क्षेत्रभित्र रहेका उद्योगलाई बण्डेड वेयर हाउस सुविधा प्रदान गर्न सिफारिस गर्ने,
(ज) विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगहरूलाई नेपाल सरकारको तर्फबाट  उपलब्ध हुने सेवा सुविधा सरल र सहज रूपमा उपलब्ध गराउन नेपाल सर कारलाई सिफारिस गर्ने,
(झ) विशेष आर्थिक क्षेत्रभित्र सञ्चालन भएका उद्योगले नेपाल बाहिर निर्यात गरेको तथा विशेष आर्थिक क्षेत्रमा सञ्चालन भएको उद्योगलाई बिक्री गरिने कच्चा पदार्थ तथा उत्पादित सामानलाई शून्य दरमा मूल्य अभिवृद्धि करको सिफारिस गर्ने,
(ञ) विशेष आर्थिक क्षेत्रभित्र स्थापना हुने उद्योगले वस्तु तथा सेवा उत्पादन गर्दा लाग्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, मेसिन उपकरणलगायतको खरिद तथा पैठारीमा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता गर्न सिफारिस गर्ने,
(ट) विशेष आर्थिक क्षेत्रभित्र स्थापना हुने उद्योगले नेपाल बाहिर निकासी गर्ने वस्तु वा सेवा तथा विशेष आर्थिक क्षेत्रभित्रका उद्योगलाई स्थानीय रूपमा बिक्री गरिएको वस्तु वा सेवामा अन्तशुल्क नलाग्ने व्यवस्था गर्न सिफारिस गर्ने,
(ठ) विशेष आर्थिक क्षेत्रभित्र स्थापना हुने उद्योगलाई मालबस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ, सहायक कच्चापदार्थ, प्याकेजिङ्ग सामग्री एवं उत्पादनमा प्रयोग हुने अन्य पदार्थको लागि बैङ्क जमानतको आधारमा तथा उद्योगको लागि आवश्यक पर्ने प्लान्ट, मेसिनरी, यन्त्र, उपकरण, औजार तथा पार्टपुर्जा र उद्योगको आकार र प्रकृतिको आधारमा तीनवटासम्म सवारी साधनमा भन्सार छुट दिन सिफारिस गर्ने,
(ड) विशेष आर्थिक क्षेत्रभित्रका लगानीकर्तालाई आवश्यक पर्ने मेसिनरी, उपकरण, जगेडा पार्टपुर्जा, यातायातका साधन, कच्चापदार्थ, प्याकेजिङ्ग सामग्रीजस्ता सामान आयात गर्न सहुलियत तथा अनुमतिको लागि सम्बन्धित निकायमा  सिफारिस गर्ने,
(ढ) असल औद्योगिक वातावरणको लागि उद्योग व्यवस्थापन र श्रमिकबीचको असल सम्बन्ध कायम राख्न उद्योग व्यवस्थापन तथा श्रमिकबीच आवश्यक समन्वय गर्ने,
(ण) सम्झौता उल्लङ्घन गर्ने उद्योगीसँग सम्झौता रद्द गरी त्यस्तो उद्योगलाई विशेष आर्थिक क्षेत्रबाट हटाउने,
(त) विशेष आर्थिक क्षेत्रमा बैंक, हुलाक, स्वास्थ्य चौकी, विद्यालय, मनोरञ्जन लगायतका सेवा सुविधाको आवश्यक व्यवस्था मिलाउने,
(थ) सडकको पहुँच, दूरसञ्चार सेवा, विद्युत् र पानीको सुविधा, कामदार तथा कच्चापदार्थको उपलब्धता तथा विशेष आर्थिक क्षेत्रको सम्भाव्यता भएको क्षेत्रलाई विशेष आर्थिक क्षेत्र तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने,
(द) विशेष आर्थिक क्षेत्रमा स्थापना गर्न सकिने उद्योगको सूची तयार गर्ने,
(ध) विशेष आर्थिक क्षेत्रमा गर्नुपर्ने विशेष सहुलियतपूर्ण व्यवहारको पहिचान गरी कार्यान्वयनका लागि मन्त्रालयसमक्ष सिफारिस गर्ने,
(न) स्थानीय प्रशासन तथा प्रहरीसँग समन्वय गरी विशेष आर्थिक क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउने,
(प) विशेष आर्थिक क्षेत्रभित्र स्थापना तथा सञ्चालन भएका उद्योगहरूबाट निकासी गरिएका वस्तुसम्बन्धी आवधिक रूपमा प्रतिवेदन लिने,
(फ) विशेष आर्थिक क्षेत्र तथा सो क्षेत्रमा उद्योगको विकास तथा प्रवद्र्धनको लागि प्रचलित कानुनको अधीनमा रही आवश्यक पर्ने अन्य काम गर्ने ।